आज: 

पहिलो पटक बाजुराका स्याउ राजधानी पुग्यो

१७ आश्विन २०७६, शुक्रबार १२:२४ मा प्रकाशित ( ११ महिना अघि)
शिलशिला
299 Views

धन बहादुर बोहरा ।
बाजुराको अर्गानिक स्याउ पहिलो पटक राजधानी काठमाण्डौं पुर्‍याइएको छ । सामुदायिक विउ बैङक तथा खाद्य उपभोक्ता कृषि सहकारी संस्था बाजुराले गत बुधवार बाजुराको पिलुचौरबाट लगेको स्याउ सोमवार राजधानी पुर्‍याएको संस्थाका सचिव सतल विकले बताए ।
यस अघि बजार अभावमा बारीमै कुहिने स्याउ यो बर्ष देखि बजारीकरण हुन थालेको हो ।
कृषि ज्ञान केन्द्र बाजुराले बाजुरामा उत्पादन भै रहेको स्याउलाई बजार सम्म पुर्‍याउनका लागि बगैंचादेखि बाटो पुगेको ठाउँ सम्मको ढुवानीमा अनुदान र स्याउ प्याकिङका लागि काटुन समेत उपलब्ध गराए पछि अहिले बाजुराको स्याउ देशका मुख्य शहरमा पुग्न थालेको हो ।
सहकारी संस्थाले राजधानीमा रहेको गोल्यान कम्पनीले माग गरे अनुसार सो स्याउ पुर्‍याइएको जनाएको छ । कृषि सहकारी संस्थाका सचिव विकले काठमाण्डौको गोल्यान कम्पनीले १४ टन स्याउ माग गरेको र हाल ७ टन स्याउ पुर्‍याइएको बताए ।
कृषि सहकारी संस्थाहरुले धनगढी, नेपालगंज, जिल्ला सदरमुकाम लगायतका बजारमा पुर्‍याएका छन । तर बाजुरा देखि शहर सम्म पुग्नका लागि बाटोको समस्याका साथै कर्णाली राजमार्ग जोड्न कर्णाली नदीमा पुल नहुदा ढुवानीमा केहि समय लागेको र अप्ठेरो भएको उनीहरुले बताएका छन ।
बाजुराको स्याउलाई बजारीकरण गर्नका लागि जिल्ला कृषि ज्ञान केन्द्र बाजुराले पहल गरी जिल्लाका चार वटा सहकारीहरुलाई ढुवानीको समेत स्वीकृति दिएको कृषि ज्ञान केन्द्र प्रमुख गोविन्द सिजापतिले बताए । उनले बाजुराको सामुदायीक विउ बैङक तथा खाद्य उपभोक्ता कृषि सहकारी संस्था, कार्तिक स्वामी बहुउदेश्यीय सहकारी संस्था, अपुसा कन्सटक्सन एण्ड सप्लायर्स र ढम्कने सहकारी संस्थालाई स्वीकृति दिएको बताए । कृषि ज्ञान केन्द्रले स्याउका साथै बाजुराको कागती समेत प्रति हप्ता २ क्वीन्टलका दरले ढुवानी गर्ने गरी सम्झौता गरेको जनाएको छ ।
बाजुराका स्वामीकार्तिक, जगन्नाथ, हिमाली, गौमुल गाउपालिका र बुढीनन्दा नगरपालिकाको २ सय ३० हेक्टर क्षेत्रफलमा बर्षेनी झण्डै १ हजार ५० टन स्याउ उत्पादन हुने गरेका छन ।